काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गरेर कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वसनीयतामाथि असर पार्ने यस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन्। उनले घटनाको पारदर्शी र विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका हुन्।
शिक्षा मन्त्रालयका अनुसार मन्त्री पोखरेलले विद्यार्थीको मेहनत र विश्वविद्यालयको प्रतिष्ठामा असर पार्ने जोसुकै व्यक्ति भए पनि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्।
मन्त्रीको निर्देशनपछि त्रिवि व्यवस्थापन सङ्कायले घटनाबारे आन्तरिक तयारी तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। त्रिविले घटनाको प्राविधिक पक्षसमेत अध्ययन गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आवश्यक जानकारी गराइसकेको जनाएको छ।

