आईतवार, श्रावण १०,२०८३ 03:05:38
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:05:38
Bizshala
Global IME Bank Limited

एमाले–नेकपा सहकार्यपछि कांग्रेस सक्रिय, सातै प्रदेशका नेता र मुख्यमन्त्रीसँग रणनीतिक छलफल

एमाले–नेकपा सहकार्यपछि कांग्रेस सक्रिय, सातै प्रदेशका नेता र मुख्यमन्त्रीसँग रणनीतिक छलफल
New Office

 

काठमाण्डौ ।   केन्द्रमा बदलिएको राजनीतिक समीकरण र प्रदेश सरकारहरूमा पर्न सक्ने प्रभावबारे नेपाली कांग्रेसले सातै प्रदेशका पार्टी नेतृत्व, मुख्यमन्त्री तथा संसदीय दलका नेताहरूसँग छलफल गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलसहितका केन्द्रीय नेताहरूले प्रदेशमा पार्टीको आगामी भूमिका, सत्ता समीकरण र सम्भावित राजनीतिक रणनीतिबारे छलफल गरेका हुन्।

छलफलमा कांग्रेसबाट मुख्यमन्त्री रहेका सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह र गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डेसहित सातै प्रदेशका सभापति तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी थिए।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको सचिवालयका अनुसार पछिल्लो समय केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि प्रदेश तहमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे बैठकमा विस्तृत छलफल भएको थियो।

केन्द्रीय सत्ता राजनीतिमा देखिएको परिवर्तनको असर प्रदेश सरकार, सत्ता साझेदारी, संसदीय समीकरण र पार्टी संगठनमा समेत पर्न सक्ने भएकाले कांग्रेसले प्रदेश नेतृत्वसँग राय लिएको बताइएको छ।

विशेषगरी नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा सत्ता गठबन्धन तथा सहकार्य गर्ने समझदारी भएपछि कांग्रेसले आफ्नो रणनीति पुनरावलोकन थालेको हो। एमाले–नेकपा सहकार्यले केही प्रदेशमा विद्यमान सरकारको अंकगणित परिवर्तन हुन सक्ने तथा कांग्रेस नेतृत्वका सरकारमाथि दबाब बढ्न सक्ने आकलन गरिएको छ।

बैठकमा प्रदेश सरकारहरूको स्थायित्व, सत्ता साझेदार दलसँगको सम्बन्ध, विपक्षी दलहरूको सम्भावित रणनीति र कांग्रेसको संगठनात्मक भूमिकाबारे प्रदेशगत विवरण प्रस्तुत गरिएको थियो।

कांग्रेस नेतृत्वले प्रदेशमा विकसित हुने राजनीतिक घटनाक्रमलाई नजिकबाट अध्ययन गर्दै आवश्यकताअनुसार पार्टीको रणनीति तय गर्ने जनाएको छ। केन्द्रबाट एकरूप राजनीतिक निर्देशन दिने र प्रदेश नेतृत्वसँग निरन्तर समन्वय गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

एमाले र नेकपाबीचको पछिल्लो सहकार्यपछि प्रदेश राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना बढिरहेका बेला कांग्रेसको यो छलफललाई सम्भावित सत्ता परिवर्तन तथा नयाँ गठबन्धनको तयारीका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.