काठमाण्डौ । नेपालको वैदेशिक व्यापार विस्तार भए पनि त्यसको प्रत्यक्ष लाभ भन्सार राजस्वमा देखिन सकेको छैन। गत आर्थिक वर्ष २०८२÷८३ मा वस्तु आयात १६ प्रतिशतभन्दा बढीले बढ्दा पनि भन्सार राजस्व वृद्धि भने ६.५ प्रतिशतमा सीमित भएको छ।
भन्सार विभागका अनुसार गत आवमा सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, वास्तविक संकलन ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ मात्र भएको छ। यो लक्ष्यको ८७.६ प्रतिशत हो।
गत आवमा नेपालको कुल आयात २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो आयात १८ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। एक वर्षमै करिब २ खर्ब ९२ अर्ब रुपैयाँले आयात बढे पनि त्यसअनुसार भन्सार राजस्वमा वृद्धि हुन सकेन।
सरकारले विभिन्न आयोजना, उद्योग तथा प्राथमिकताका क्षेत्रका लागि दिने भन्सार छुटले पनि राजस्व संकलनमा प्रभाव पार्दै आएको छ। आयात बढ्दै जाँदा पनि छुट सुविधा र न्यून महसुल भएका वस्तुको हिस्सा ठूलो हुँदा भन्सार राजस्व वृद्धिको गति कमजोर देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार गत आवको कुनै पनि महिनामा राजस्व संकलन लक्ष्य पूरा हुन सकेन। सबैभन्दा राम्रो प्रदर्शन चैतमा भएको थियो, जहाँ लक्ष्यको ९५.२ प्रतिशत राजस्व उठेको थियो। माघमा ९३.८ प्रतिशत र असारमा ९२.९ प्रतिशत संकलन भएको थियो।
सबैभन्दा कमजोर प्रदर्शन कात्तिकमा देखिएको थियो। उक्त महिनामा लक्ष्यको ७२.६ प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको जेठ महिनामा भन्सार राजस्व घटेको छ। २०८१/८२ को जेठमा ४९ अर्ब ६२ करोड रुपैयाँ संकलन भएकोमा २०८२/८३ को सोही महिनामा ४७ अर्ब ८६ करोड रुपैयाँ मात्र उठेको छ। यो ३.६ प्रतिशतको गिरावट हो।

