काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५४ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.७७ प्रतिशतले बढेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल माइक्रोको सेयरभाउ १० प्रतिशतले बढेर २०३१ रुपैयाँ १० पैसा र क्रेष्ट माइक्रो लाइफको सेयरभाउ १० प्रतिशतले बढेर १६७९.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको २.१३ प्रतिशत, सिटिजन लाइफको २.२४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.९४ प्रतिशत, हिमालयन लाइफको ३.३८ प्रतिशत, आइएमई लाइफको २.५८ प्रतिशत, एलआइसी नेपालको १.१० प्रतिशत, नेपाल लाइफको १.५२ प्रतिशत, नेशनल लाइफको १.९८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.७० प्रतिशत, रिलायबल नेपाल लाइफको १.६३ प्रतिशत, सुर्यज्योति लाइफको ३.०१ प्रतिशत, सन नेपाल लाइफको ३.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.३५ प्रतिशतले सेयरभाउ बढेको छ ।
साथै, निर्जीवन बीमातर्फ हिमालयन एभरेष्टको ३.८६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.८४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५५ प्रतिशत, नेको इन्स्योरेन्सको १.४४ प्रतिशत, एनएलजीको ३.८२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५९ प्रतिशत, आरबीसीएलको १.९७ प्रतिशत, सलिकोको ०.४३ प्रतिशत, सानिमा जिआइसीको ४.२३ प्रतिशत, शिखरको १.२० प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.५० प्रतिशत र युनाइटेड अजोडको ३.४८ प्रतिशतले सेयरभाउ बढेको छ । यता पुनर्बीमातर्फ भने हिमालयन रि को सेयरभाउ १.५४ प्रतिशतले बढेर ९६७ रुपैयाँ पुगेको छ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ १.६८ प्रतिशतले बढेर १२२४ रुपैयाँ पुगेको छ ।