शनिबार, श्रावण २,२०८३ 09:03:22
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:03:22
Bizshala
Global IME Bank Limited

‘पीएचडी गर्दैमा सफल नेता भइँदैन’: अर्थमन्त्री वाग्लेमाथि बालेनका विश्वासपात्रको सांकेतिक प्रहार

‘पीएचडी गर्दैमा सफल नेता भइँदैन’: अर्थमन्त्री वाग्लेमाथि बालेनका विश्वासपात्रको सांकेतिक प्रहार
New Office

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ निकट समूहको असन्तुष्टि थप सतहमा आएको छ। बालेनको कोर टिमका विश्वासपात्र मानिने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डिल्लीश्वर कार्की ‘रोहन’ले शैक्षिक उपाधि र विज्ञता मात्र सफल नेतृत्वको मापदण्ड नहुने आशयको अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

कार्कीले फेसबुकमा लेखेको स्टाटसमा अर्थमन्त्री वाग्लेको नाम उल्लेख गरेका छैनन्। तर पीएचडी उपाधि, विज्ञता र नेतृत्व क्षमताबीचको अन्तर औँल्याउँदै उनले उठाएको विषयलाई अर्थमन्त्रीप्रति बालेन समूहमा देखिएको असन्तुष्टिसँग जोडेर हेरिएको छ।

प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई हटाउनुपर्ने अडान राखिरहेको चर्चा चलिरहेका बेला कार्कीको उक्त अभिव्यक्ति आएको हो। काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि शाहको कोर टिममा रहेर काम गरेका कार्कीलाई बालेनकै पहलमा रास्वपाको केन्द्रीय सदस्य बनाइएको बताइन्छ। सेयर लगानीकर्तासमेत रहेका उनी प्रधानमन्त्रीका निकट र विश्वासपात्र पात्रका रूपमा चिनिन्छन्।

कार्कीले धेरै अध्ययन गर्दैमा वा पीएचडी हासिल गर्दैमा कोही सफल नेता नबन्ने उल्लेख गरेका छन्। सफल नेतृत्वका लागि सबै विषयको विज्ञ हुन आवश्यक नपर्ने उनको भनाइ छ।

उनले लेखेका छन्, ‘धेरै पढ्दैमा वा पीएचडी गर्दैमा सफल नेता भइँदैन, र सफल नेता हुन सबै विषयको विज्ञ हुनु पनि आवश्यक छैन।’

नेतृत्वको वास्तविक मूल्यांकन शैक्षिक उपाधिका आधारमा नभई दूरदृष्टि, जनभावना र समयको माग बुझ्ने संवेदनशीलता तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिन सक्ने क्षमताबाट हुनुपर्ने उनको धारणा छ। सही व्यक्तिलाई सही जिम्मेवारी दिने क्षमता र प्राप्त परिणाम नै नेतृत्व मापनका प्रमुख आधार भएको कार्कीले उल्लेख गरेका छन्।

उनले विज्ञताको मूल्यसमेत पद, प्रतिष्ठा वा उपाधिका आधारमा निर्धारण नहुने बताएका छन्। ज्ञान, अनुसन्धान, अनुभव, विश्लेषण र कार्यान्वयन क्षमताले मात्र विज्ञताको वास्तविक मूल्य स्थापित गर्ने उनको तर्क छ।

‘विज्ञहरूले तथ्य, प्रमाण र सीपमार्फत समाधान निर्माण गर्छन्, नेतृत्वले त्यसलाई उद्देश्य, दिशा र गति प्रदान गर्छ,’ कार्कीले लेखेका छन्।

उनका अनुसार समृद्ध राष्ट्र, सफल सरकार, सक्षम संस्था वा उत्कृष्ट व्यवसाय निर्माणका लागि नेताले गन्तव्य निर्धारण गर्नुपर्छ। विज्ञहरूले त्यो गन्तव्यसम्म पुग्ने बाटो तयार गर्नुपर्ने र सक्षम टोलीले योजनालाई परिणाममा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

कार्कीले दृष्टिविहीन विज्ञता दिशाहीन हुने र विज्ञताविहीन नेतृत्व आधारहीन हुने निष्कर्षसमेत निकालेका छन्। दूरदर्शी नेतृत्व र सक्षम विज्ञताबीच सन्तुलित समन्वय भए मात्र दिगो विकास, सुशासन र समृद्धि सम्भव हुने उनले बताएका छन्।

उनको अभिव्यक्तिले अर्थमन्त्री वाग्लेको शैक्षिक योग्यता र अर्थशास्त्रीय विज्ञताभन्दा पनि सरकार सञ्चालनका क्रममा देखिएको निर्णय क्षमता, जनभावना बुझ्ने शैली र प्राप्त परिणाममाथि प्रश्न उठाउन खोजेको संकेत गर्छ। यद्यपि कार्कीले पोस्टमा वाग्लेको नाम नलिएकाले उक्त अभिव्यक्ति अर्थमन्त्रीलाई नै लक्षित गरिएको हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन।

पछिल्लो समय सेयर बजार तथा समग्र अर्थतन्त्रलाई लिएर अर्थमन्त्री वाग्लेको भूमिकाप्रति लगानीकर्ताको एउटा समूह असन्तुष्ट देखिँदै आएको छ। यस्तो अवस्थामा बालेनका निकट सहयोगी तथा सेयर लगानीकर्तासमेत रहेका कार्कीको अभिव्यक्तिलाई सामान्य सैद्धान्तिक टिप्पणीभन्दा प्रधानमन्त्रीको टिमभित्र विकसित धारणाको सांकेतिक प्रस्तुति मानिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.