काठमाण्डौ । अमेरिका र बेलायतले आज कर घटाउने सम्झौताको घोषणा गर्ने भएका छन् । गत महिना राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशमा कर लगाएपछि बेलायत सरकारले कर घटाउने सम्झौताको खोजी गरिरहेको थियो ।
यस्तोमा दुई देशबीच ट्यारिफको विषयमा सम्झौता हुन लागेको हो । आजको अपेक्षित घोषणा बेलायत र भारतले व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि आएको हो।
अमेरिका बेलायतको सबैभन्दा ठूलो एकल व्यापार साझेदारको रुपमा रहदै आएको छ । बेलायतबाट अमेरिकाले २०० बिलियन युरोबराबरको आयात गर्दै आएको छ ।
गत वर्ष मूल्यको आधारमा बेलायतको सबैभन्दा ठूलो वस्तु निर्यातमा कार र औषधिहरू थिए ( त्यसैले ती क्षेत्रहरूका लागि कुनै पनि ट्यारिफ छुटहरू महत्त्वपूर्ण हुने जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले विश्वव्यापी ट्यारिफको लहर जारी गरेदेखि बेलायत अमेरिकासँग यस प्रकारको सम्झौताको लागि हताश थियो। यस्तोमा बेलायत अमेरिकासँग ट्यारिफ छुटको विषयमा सम्झौता गर्ने पहिलो देश बनेको छ ।
हाल अमेरिकाले स्टिल, आल्मुनियम र कारहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ । यस्तै विश्वव्यापी १० प्रतिशत ट्यारिफ भने सबै देशमाथि लगाइएको छ । बेलायतको व्यापार समूहले व्यापार घोषणालाई स्वागत गरेको छ।