काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४३८.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
गत बिहिबार सेयरबजारमा ७ अर्ब ८ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘समयमै गभर्नर नियुक्ति हुन नसक्दा, सरकारको भविष्यप्रतिको चिन्ता र बजेटमा करका विषयहरुमा उठेका प्रश्नहरुले पूँजीबजार पछिल्लो समय बढ्न सकेको छैन । लगानीकर्ताले यतिबेला बढेर सेयर खरिद गर्न चाहेका छैनन् ।’
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष धनश्याम पाण्डेले पनि गभर्नर नियुक्तिमा ढिलाई भएकै कारण बजार साइडवेजमा गएको बताउछन् । उनले सरकारले गभर्नर नियुक्ति नगरेर हलो अड्काएको समेत आरोप लगाए । यद्यपी सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।
‘बजारमा कारोबार राम्रै भएको छ । मौद्रिक नीतिको समीक्षा पनि आउदै गर्दा बजारले फेरि गति लिन सक्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ४.३० प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.८७ र लघुवित्त समूह १.१० प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक घट्ने समूहको रुपमा रह्यो । यो समूह आज ३.७५ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.०३ प्रतिशत, विकास बेंक २.३५, वित्त ०.४२,हाईड्रो १.३३, लगानी ०.२१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.३७,म्युचुअल फण्ड ०.२८ र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ७० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख, राधी विद्युतको ४८ करोड ४२ लाख, युनिभर्सल पावरको ४३ करोड ८१ लाख र हिमालयन रि इन्स्योरेन्सको ४२ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल रि इन्स्योरेन्सको सेयरमूल्य पनि आज ८.५२ प्रतिशत,स्वाभिमान लघुवित्तको ६.९८ र ओरियन्टल होटलको सेयरमूल्य ६.२३ प्रतिशतले बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ९.७८ प्रतिशतले ओरालो लाग्दा नेपाल माइक्रो इन्स्योरेन्सको ७.५८,ग्रिन डेभलपमेन्ट बैंकको ७.३९ र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ६.९८ प्रतिशतले घट्यो ।