काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.४० अंकले बढेर २ हजार ६८८.९१ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ४५८.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गाना भन्छन्, ‘आज हाई क्याप कम्पनीहरु समेत चलेका कारण बजारमा अब एउटा स्विङको सम्भावना अवश्य पनि रहन्छ । गभर्नर नियुक्त हुनु र नयाँ मौद्रिक नीति बजारमैत्री हुनसक्ने अपेक्षाका कारण बजार आज सम्हालिएको छ । यद्यपी बजेटमा करको विषयले भने अझै केही दुविधा भने रहेको छ ।’
प्राविधिक रुपमा पनि यदि बजार २७७० भन्दा माथि टिकेमा बजारले अप ट्रेण्ड लिएको मान्न सकिने र यसलाई आइतबारको बजारले थप प्रष्ट पार्ने उनले बताए ।
अर्का बजार जानकार उपेन्द्र पाठकले पनि हिजोको गभर्नरको अभिव्यक्तिले आज बजार सम्हालिएको बताए । ‘केही निराश लगानीकर्ताको एफडीको पैसा पनि पूँजी बजारमा आउन सक्ने अधिक सम्भावना देखिन्छ । अब लाभांश खाने बेला भएका कारण एफडीमा भन्दा सेयर बजारमै बढी प्रतिफल मिल्ने देखिन्छ,’ उनले भने ।
उनका अनुसार आज वाणिज्य बैंकमा कारोबार तथा भोल्युम आउनुले समेत यसलाई पुष्टि गरेको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो ।
बैंकिङ समूह आज सर्वाधिक अर्थात ३.९४ प्रतिशतले बढ्यो । लघुवित्त समूह पनि आज २.६१ प्रतिशत,म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढ्यो ।
होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.७८ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४१ प्रतिशत, फाइनान्स ०.३०,हाईड्रो १.१०,लगानी ०.२२,उत्पादन तथा प्रशोधन ०.६९, अन्य ०.१८ र व्यापार समूह ०.३६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६९ करोड १ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै राधी विद्युत कम्पनीको ६० करोड ७१ लाख,कुमारी बैंकको ४२ करोड ६३ लाख, युनिभर्सल पावरको ४० करोड ८२ लाख र माउन्टेन इनर्जीको ३४ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएमा मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
यस्तै एनआईसी एशिया बैंकको ८.११ प्रतिशत, फर्वार्ड माइक्रोफाइनान्सको ८.०६, कुमारी बैंकको ६.५३ र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ५.९७ प्रतिशतले बढ्यो ।
बाराही हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो ।