काठमाण्डौं । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल सेयरबजारमैत्री देखिएका छन् ।
उनी आफू गभर्नर नियुक्त भएपछिको पहिलो त्रैमासिक मौद्रिक समीक्षामा सेयर बजारप्रति नरम बन्ने नीति सार्वजनिक गरेका हुन् ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले सबैखालका सेयरधितो कर्जाको जोखिमभारलाई घटाएर १०० प्रतिशत कायम गरिने घोषणा गरेको हो ।
यसअघि निश्चित रकमको सीमासम्मको सेयरधितो कर्जाको जोखिमभार १०० प्रतिशत रहे पनि ठूला कर्जाको यस्तो भार १२५ प्रतिशत रहेको थियो ।
गभर्नरको पहिलो यो कदमले सेयरधितो कर्जाको सीमा नाघेर थप कर्जा दिन नसक्ने अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने भएको छ भने लगानीकर्ताहरुले पनि जोखिमभार १०० प्रतिशत कायम हुँदा राहात पाएका छन् ।