काठमाण्डौ । युरोपमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाको बिक्रीमा व्यापक गिरावट आएको छ । बढ्दो प्रतिष्पर्धा र कम्पनीको प्रतिष्ठामा आएको आँचका कारण अप्रिल महिनामा कम्पनीको बिक्रीमा ४९ प्रतिशतको गिरावट आएको हो ।
अप्रिल महिनामा कम्पनीले युरोप क्षेत्रमा ७ हजार २६१ वटा कार मात्रै बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले कम हो । अप्रिल महिनामा वार्षिक रुपमा ईभी ब्याट्री कारको बिक्री ३४.१ प्रतिशतले बढेतापनि यो गिरावट देखिएको युरोपियन अटोमोबाइल म्यानुफ्याकचर्स एसोसियसन(एसीईए)ले जनाएको छ ।
टेस्लाका सीईओ एलन मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक रुपमा संलग्न भएसँगै कम्पनीको ब्राण्डमा ठूलो क्षति पुगेको छ । जसका कारण मार्च महिनाभर युरोपमा रहेका टेस्ला डिलरशिपहरुमा ब्यापक प्रदर्शन भएको थियो ।
यो वर्ष कम्पनीले मोडल वाईको अपडेटेड भर्जन लञ्च गरेको थियो । तर कम्पनीले समग्र लाइन अप कारमा अझै नयाँ लञ्च गर्न सकेको छैन ।