काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री यही जेठ २३ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ ।
प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री गर्न लागिएको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य( का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुनेछ । यो खुलामुखी योजना हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ।