काठमाण्डौ । बीमाको दायरा नेपालको कुल जनसंख्याको झण्डै आधा जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा बीमाको दायरा ४७.३९ प्रतिशत जनसंख्यामा पुगेको छ ।
गत आवको सोही अवधिसम्मको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३.८३ अंकले बृद्धि भएको छ । गत आवको वैशाख मसान्तसम्म जम्मा ४३.५६ प्रतिशत जनसंख्यामा मात्रै बीमाको दायरा पुगेको थियो ।
प्राधिकरणका अनुसार बीमाको दायरा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । पछिल्लो समय बीमाको दायरा बृद्धि गर्न विशेष गरी लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा शाखा विस्तार गरेका छन् ।
यसका साथै ठूला बीमा कम्पनीहरुले पनि ग्रामिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा साक्षरण कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । बीमा कम्पनीको शाखा सञ्जाल र कर्मचारी संख्या थपिदै जाँदा समग्र बीमाको दायरा बढ्न पुगेको छ ।
नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न स्थानीय निकायहरुसँगको समन्वयमा बीमासम्बन्धी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यस्तो गतिविधिले बीमाको दायरा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको देखिएको छ ।
बीमाको दायरासँगै बीमकहरुको व्यवसाय समेत उल्लेख्य बढेको छ । बीमा कम्पनीहरुको कुल व्यवसाय गत आवको तुलनामा १४.०३ प्रतिशतले बृद्धि भएको छ । गत आवको १० महिनासम्म १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ प्रिमिमय उठाएका बीमा कम्पनीहरुले चालु आवको १० महिनासम्म १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।
जसमा जीवन बीमकहरुले मत्रै १५.५५ प्रतिशत व्यवसाय बढाएका छन् भने निर्जीवन बीमकहरुले ८.४६ प्रतिशत व्यवसाय बढाएका छन् । सो अवधिसम्म जीवन बीमकहरुले १ अर्ब ४० अर्ब ३५ करोड बीमाशुल्क आर्जन गरेका छन् भने निर्जीवन बीमकहरुले ३५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सो अवधिसम्म बीम कम्पनीहरुको कुल शाखा कार्यालय संख्या २ हजार ९९८ पुगेको छ । गत आवको तुलनामा शाखा संख्या १।५२ प्रतिशतले बृद्धि भएको छ । गत आवको १० महिनासम्ममा बीमकहरुको शाखा संख्या २ हजार ९५३ थियो ।
जसमा जीवन बीमा कम्पनीहरुको शाखा संख्या १ हजार ८४७ रहेको छ भने निर्जीवन बीमकहरुको शाखा सञ्जाल १ हजार १५१ रहेको छ ।
त्यस्तै, बीमा कम्पनीहरुमा कुल कर्मचारी संख्या १२ हजार १६२ रहेको छ । गत आवको तुलनामा कर्मचारी संख्या पनि ४.३२ प्रतिशतले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म कर्मचारी संख्या ११ हजार ६५८ थियो ।
जीवन बीमा कम्पनीहरुको कुल कर्मचारी संख्या ६ हजार ७८ रहेको छ भने निर्जीवन बीमकहरुको कर्मचारी संख्या ६ हजार ७५ रहेको छ । जीवन बीमकको कर्मचारी संख्या गत आवको तुलनामा ४.२७ प्रतिशत र निर्जीवन बीमकको ४.३८ प्रतिशतले बृद्धि भएको छ ।