काठमाण्डौ । बिहिबार धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक खुमलटारमा रहेको बोर्ड कार्यालयमा सम्पन्न भएको छ ।
बोर्ड अध्यक्ष सन्तोषनारायण क्षेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित नेपाल राष्ट्र बैैकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिको संयोजकत्वमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार आगामी साता नयाँ स्टक एक्सचेञ्जको विषयमा सिवाकोटीको प्रतिवेदन सार्वजनिक हुनेछ ।
यो प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्ड पुगेको थियो । धितोपत्र बोर्डमा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसमा अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल , कानून न्याय तथा संसदिय मामिला मन्त्रालयबाट सह–सचिव बिनोद कुमार भट्टराई , नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवत प्रसाद नेपाल, आईक्यानका उपाध्यक्ष नीलबहादुर सारुमगर , उद्योग वाणिज्य महासंघबाट गोकर्ण अवस्थी र बिज्ञमा भोलानाज ढुङ्गाना रहेका छन् ।