काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.२८ अंकले घटेर २ हजार ६६४.८८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४५६.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘ आजको घटाईलाई सामान्य नाफा बुकको रुपमा लिन सकिन्छ । कारोबार पनि अघिल्लो दिनकै हाराहारी भएको छ । सेयर लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाहरु आउदै गरेको राष्ट्र बैंकको मौद्रिक नीतिको प्रतिक्षामा छन् ।’
उनले समग्रमा बजार सकारात्मक नै रहेको र असार मसान्तको प्रभाव अझै दुई तिन सातासम्म नपर्ने बताए ।
अर्का बजार जानकार दामोदर गजुरेलले समूहगत रुपमा परिवर्तन हुँदै बजार चलिहरको बताए । उनले केही समयपछि बजारमा असार मसान्तको दबाब भने पर्न सक्ने बताए । ‘दीर्घकालका लागि भने अहिले एक्युमुलेशन र लगानीको अवसर रहेको छ,’उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा मात्रै समूहमा हरियाली छायो भने अन्य सबैमा रातो पोतियो । बढ्ने एउटा मात्रै समूहको रुपमा आज हाईड्रोपावर समूह रह्यो । यो समूह आज १.१७ प्रतिशतले बढ्यो । म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो ।
व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.७५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३८ प्रतिशत, विकास बैंक ०.७०, फाइनान्स १.३५, होटल १.१२, लगानी ०.९५, जीवन बीमा ०.७८, उत्पादन तथा प्रशोधन ०.५८,लघुवित्त ०.२७,निर्जीवन बीमा ०.५० र अन्य समूह १.७३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६१ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । सानिमा माई हाईड्रोको पनि आज ५९ करोड २७ लाख, बुटवल पावरको ५८ करोड ४८ लाख, युनिभर्सल पावरको ४७ करोड ८५ लाख र चिलिमे हाईड्रोको ४७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बुटवल पावर, पियोर इनर्जी र सिनर्जी पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
रिभर फल्स पावरको सेयरमूल्य आज ७.९४ प्रतिशत,श्री इन्भेष्टमेन्टको ६.०८ र साहस उर्जाको सेयरमूल्य आज ५.२९ प्रतिशतले बढ्यो ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ५.८९ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.७३ प्रतिशत,उन्नती सहकार्यको ४.४९ र हिमालयन पावर पाटर्नरको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो ।