शुक्रबार, श्रावण १,२०८३ 01:03:26
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:03:26
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीबाट निराश बजारमा ‘बालेन भरोसा’, नेप्सेमा शानदार उछाल

अर्थमन्त्रीबाट निराश बजारमा ‘बालेन भरोसा’, नेप्सेमा शानदार उछाल
New Office

काठमाण्डौ । लामो समयदेखि दबाबमा रहेको सेयर बजारले नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सुखद संकेत दिएको छ। बजारमा देखिएको उछाललाई केवल प्राविधिक सुधारका रूपमा मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो सक्रियताबाट लगानीकर्ताको मनोबलमा परेको सकारात्मक प्रभावका रूपमा समेत हेरिएको छ।

बजार लगातार घट्दा खर्बौं रुपैयाँ बराबरको पुँजीकरण गुमेको, कारोबार रकम खुम्चिएको र लगानीकर्ता निराश बनेको अवस्थामा प्रधानमन्त्री शाहले पुँजी बजारका समस्या समाधानमा प्रत्यक्ष चासो देखाउन थालेका छन्। यसले लामो समयदेखि हराएको नीतिगत भरोसा विस्तारै फर्किने अपेक्षा बढाएको छ।

प्रधानमन्त्री शाहले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर करिब एक घण्टा छलफल गरेका थिए। छलफलमा उनले सेयर बजारका लगानीकर्ताको मनोबल उकास्ने तथा वित्तीय प्रणालीमा विश्वास बढाउने सम्भव सबै नीतिगत उपाय अवलम्बन गर्न निर्देशन दिएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।

प्रधानमन्त्रीले सेयर धितो कर्जा, जोखिम भार, कर्जा प्रवाह तथा बजारमा तरलता परिचालनसँग सम्बन्धित व्यवस्थामा आवश्यक लचकता अपनाउन र आगामी सर्कुलरहरूलाई समेत बजारमैत्री बनाउन आग्रह गरेको बताइएको छ। गभर्नर पौडेलले पनि समग्र वित्तीय स्थायित्वमा असर नपर्ने गरी सम्भव सुधार अघि बढाउन सकारात्मक रहेको संकेत दिएका छन्।

यसअघि पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालय र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट अपेक्षाअनुसार पहल नभएको भन्दै लगानीकर्तामा असन्तुष्टि बढेको थियो। नीतिगत अन्योल, उच्च करको दबाब, कमजोर माग र सरकारबाट स्पष्ट सन्देश नआउँदा बजारको मनोबल निरन्तर कमजोर बनेको थियो।

तर पछिल्लो समय प्रधानमन्त्री स्वयंले सेयर बजारको अवस्थाबारे चासो राख्दै नियामक निकायसँग संवाद बढाएपछि परिस्थिति बदलिन सक्ने अपेक्षा देखिएको छ। लगानीकर्ताले प्रधानमन्त्रीको सक्रियतालाई भाषणभन्दा कार्यान्वयनमुखी नीतिमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने दृष्टिले हेरिरहेका छन्।

सरकारले दीर्घकालीन लगानीमा पुँजीगत लाभकर ७.५ प्रतिशत र अल्पकालीन कारोबारमा १० प्रतिशत पुर्‍याएको विषयले लगानीकर्तालाई निराश बनाएको थियो। यस्तो अवस्थामा मौद्रिक तथा वित्तीय नीतिबाट थप सहजीकरण आउने संकेतले बजारमा केही राहत दिएको देखिन्छ।

धितोपत्र बोर्डले पनि पुँजी बजार विकास मार्गचित्रमार्फत बजार निर्माता, तरलता प्रदायक, सर्ट सेलिङ, इन्ट्राडे कारोबार, डिजिटल प्रणाली र संस्थागत लगानी विस्तारजस्ता सुधार अघि सारेको छ। प्रधानमन्त्रीको पहलसँगै राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयबीच प्रभावकारी समन्वय हुन सके बजारमा संरचनात्मक सुधारको आधार बन्न सक्छ।

यद्यपि, एक दिनको उछाललाई दीर्घकालीन तेजीको सुनिश्चितता मान्न हतार हुनेछ। बजारको आगामी दिशा प्रधानमन्त्रीको सक्रियता ठोस नीतिगत निर्णयमा बदलिन्छ कि बदलिँदैन, बैंकिङ प्रणालीको तरलता पुँजी बजारमा प्रवेश गर्छ कि गर्दैन र लगानीकर्ताको विश्वास कति टिकाउ बन्छ भन्नेमा निर्भर रहनेछ।

नयाँ आर्थिक वर्षको पहिलो दिन देखिएको उत्साहले भने एउटा स्पष्ट संकेत दिएको छ-बजार पैसा मात्र होइन, भरोसा पनि खोजिरहेको छ। प्रधानमन्त्री शाहको पछिल्लो सक्रियताले त्यही भरोसा जगाउन थालेको हो भने लामो समयदेखि निराश बनेका लगानीकर्ताका लागि बजार पुनरागमनको आधार तयार हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.