न्यूयोर्क / अहमदाबाद । अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डिया फ्लाइट AI-171, बोइङ ७८७–८ ड्रीमलाइनर विमान, उडेको केही सेकेन्डमै मेघानीनगर क्षेत्रमा दुर्घटनाग्रस्त भएपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।
बिहीबार बिहान प्रि–मार्केट ट्रेडिङमा कम्पनीको सेयर मूल्य ५.४% ले घटेको जनाइएको छ।
दुर्घटना विवरण
AI-171 विमानमा २३२ यात्रु र १२ चालकदलका सदस्य थिए। विमान उडेको केही सेकेन्डभित्रै अन्तिम सिग्नल ०८:०८:५१ UTC मा प्राप्त भएको ट्र्याकिङ वेबसाइट Flightradar24 ले जनाएको छ। विमान VT-ANB दर्ता भएको ड्रीमलाइनर मोडेल थियो।
बोइङ सेयरमा लगातार गिरावट
बुधबार बोइङको सेयर $214 मा बन्द भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ०.८% घट थियो। यसले दुई दिनदेखि गिरावटको सिलसिला जारी रहेको देखाउँछ। आजको दुर्घटनापछि लगानीकर्ताबीच कम्पनीको विश्वसनीयता र सुरक्षा मापदण्डप्रति थप प्रश्न उठेको छ।
एयर इन्डियाको प्रतिक्रिया
एयर इन्डियाका प्रवक्ताले भनेका छन्, "फ्लाइट AI-171, जुन अहमदाबाद–लन्डन ग्याटविक रुटमा उडान भरेको थियो, आज १२ जून २०२५ मा दुर्घटनामा परेको छ। हाल हामी विवरण संकलन गर्दैछौं र आवश्यक अपडेट चाँडै दिनेछौं।"
विश्वभर चासो
बोइङ ७८७ सिरिजमा यो पहिलो गम्भीर दुर्घटना भएको जानकारी एभिएसन सेफ्टी नेटवर्क डाटाबेसले दिएको छ। यस घटनाले बोइङ कम्पनीको सुरक्षामाथि फेरि एकपटक प्रश्न उठाएको छ। सन् २०१९ मा बोइङ ७३७ म्याक्स विमानसम्बन्धी दुइटा दुर्घटनाले कम्पनीमा गहिरो संकट ल्याएको थियो।