काठमाण्डौ । अमेरिकाका दुई ठूला स्याटेलाइट कम्पनीहरू स्टारलिंक र अमेजन कुइपरले पहिलो पटक भारतका भीस्याट (भेरी स्मल अपर्चर टर्मिनल) कम्पनीहरूसँग व्यावसायिक सम्झौता गरेका छन्।
यो साझेदारी भारतमा इन्टरप्राइज (बीटुबी) र सरकारी (बीटुजी) क्षेत्रहरूमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू सुरु गर्ने दिशामा ठूलो कदम भएको जनाइएको छ। भारतमा स्याटेलाइट स्पेक्ट्रमको आधिकारिक विनियोजन हुन बाँकी रहेका बेला यी सम्झौताहरू भएका हुन्।
के छ कम्पनीहरुको योजना ?
स्टारलिंक र अमेजन दुवै भारतमा लो–अर्थ अर्बिट (एलईओ) स्याटेलाइट ब्रोडब्यान्ड सेवा मार्फत व्यापार विस्तार गर्ने तयारीमा छन्। यी कम्पनीहरूले व्यापार र सरकारी क्षेत्रलाई मात्र लक्षित गर्दैनन्, खुद्रा उपभोक्ता बजारमा प्रवेश गर्ने योजना पनि बनाएका छन्। यद्यपि, खुद्रा बिक्रीको लागि मूल्य निर्धारण मोडेल अझै फाइनल भएको छैन।
मनीकन्ट्रोलका अनुसार स्टारलिंक र अमेजन दुवै भारतमा साझेदारीमा काम गरिरहेका छन्। यी कम्पनीहरुले केही भीस्याट कम्पनीहरूसँग विशेष गरी बीटुबी र बीटुजी खण्डहरूका लागि सम्झौता गरेका छन्। उनीहरुको उद्देश्य भारतमा यसको उपग्रह क्षमताको पूर्ण उपयोग गर्नु हो।