काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार चौथो दिनपनि बढेको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.२९ प्रतिशत अर्थात ३४.४२ अंकले बढेर २ हजार ६९४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ४६२.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार पर्वत विष्ट भन्छन्, ‘बजार घट्नु पर्ने कुनै कारण थिएन । गत वर्षपनि मध्य असारबाट नै बढेका कारण यो वर्ष पनि सोही ट्रेण्ड बजारमा देखिएको छ । लगानीकर्ता राम्रा र सस्ता कम्पनीतर्फ आकर्षित भएको देखिन्छ ।’
प्राविधिक रुपमा पनि बजारले २५९० मा लो लगाएर माथि चढेको र अब २७३० भन्दा माथि लागेको खण्डमा बजारले थप उचाई लिन सक्ने उनले बताए ।
अर्का बजार जानकार देव गुरागाईले पनि यो समय सेयर बजारमा पनि मानो रोपेर मुरी फलाउने बेला भएको बताए । ‘लामो समय साइडवेज गएको बजारले तल ब्रेक गर्न नसके पछि माथि लागेको छ । मौद्रिक नीति नआईसकेता पनि बजारमैत्री आउने आँकलनका कारण हिजोआज बजारमा सुधार आएको छ ।’ उनले भने ।
उनले २०८२–८३ सालसम्ममा बजारले ठूलो फड्को मार्ने बजार साइकलको आधारमा दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.८५ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह १.३९ प्रतिशत, विकास बैंक १.९३, फाइनान्स २.१७, होटल ०.६७, हाईड्रो ०.४६, लगानी १.१८, उत्पादन तथा प्रशोधन ०.६५,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा २.६५,अन्य ०.८४ र व्यापार समूह १.८९ प्रतिशतले बढे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५५ करोड ५३ लाख, साहस उर्जाको ४९ करोड ४१ लाख,सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड र बुटवल पावरको सेयरमूल्य २८ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर सर्किट लाग्ने कम्पनीहरुमा ग्रिन डेभलपमेन्ट बैंक,खानीखोला हाईड्रो र नेपाल इन्स्योरेन्स रहे ।
यसैगरी गुराँस लघुवित्तको सेयरमूल्य ९.१५, सिन्धु विकास बैंकको ८.९२ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२९ प्रतिशतले बढ्यो ।
विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ३.३१ प्रतिशतले घट्यो । यस्तै युनिभर्सल पावरको २.४७ र अभियान लघुवित्तको २.३२ प्रतिशतले घट्यो ।