काठमाण्डौ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रंपले रूसमाथि कडा व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य १२० अमेरिकी डलरसम्म पुग्ने सम्भावना बढेको छ। यसले भारतजस्ता आयात–निर्भर मुलुकहरूमा इन्धनको मूल्य वृद्धिसँगै व्यापक महँगीको चपेटा ल्याउने विश्लेषकहरूको अनुमान छ।
भारतीय मिडिया 'आजतक'मा प्रकाशित समाचार अनुसार ट्रंपले रूसमाथि १०० प्रतिशत ट्यारिफ लगाउने योजना सार्वजनिक गरेसँगै तेल बजारमा दबाब बढेको छ। रूसबाट तेल आपूर्ति कम हुने हो भने बजारमा ठूलो अभाव आउने र त्यसको मूल्यमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरू बताउँछन्।
भारतको रणनीति : तेल आपूर्ति निरन्तरता
भारतले विश्व बजारको मूल्यभन्दा सस्तो दरमा कच्चा तेल रूसबाट खरिद गर्दै आएको छ। ट्रंपको सम्भावित ट्यारिफको सन्दर्भमा पनि भारतले हाललाई रूसी तेल आयात नरोकिने स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “हामी आफ्नो ऊर्जा सुरक्षा, मूल्य र बजार उपलब्धताका आधारमा निर्णय लिन्छौं, बाह्य दबाबका आधारमा होइन।”
भारतले रूससँगको रणनीतिक सम्बन्धलाई कायम राख्दै अमेरिकी आलोचनालाई चुपचाप अस्वीकार गरेको देखिन्छ। भारतको नीति स्वतन्त्र निर्णय, ऊर्जा सुरक्षा र बजार यथार्थमा आधारित रहेको बताइएको छ।
संभावित प्रभाव : भारतमा इन्धन र उपभोक्ता सामग्री महँगिने खतरा
विशेषज्ञहरूको अनुसार, कच्चा तेलको मूल्य $120 पुग्ने हो भने भारतमा पेट्रोल, डिजेल, एलपीजीसहित दैनिक उपभोग्य वस्तुहरूको मूल्य प्रभावित हुने निश्चित छ। ढुवानी लागत बढ्ने भएकाले खाद्यवस्तु, दूध, फलफूल, तरकारी महँगिनेछ। यस्तै, कपडा, इलेक्ट्रोनिक्स, सिमेन्ट, प्लास्टिक जस्ता क्षेत्रहरूमा पनि लागत वृद्धिको असर देखिनेछ।
यसका अतिरिक्त, सार्वजनिक यातायात भाडा, इकमर्स डेलिभरी शुल्क, ट्रक–बसको अपरेटिङ खर्च वृद्धि हुने भएकाले साधारण उपभोक्ताको खर्च बोझ थपिने आँकलन छ।
नेपाललाई कस्तो प्रभाव पर्ला ?
डोनाल्ड ट्रंपको ट्यारिफ नीतिले भारतमा कच्चा तेलको मूल्यवृद्धि गराएमा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा पनि पर्न सक्छ, किनकि नेपालले पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्छ। भारतमा इन्धन महँगिँदा त्यसको मूल्य स्वतः नेपालमा पनि बढ्ने निश्चित छ, जसले नेपालको व्यापार घाटा थप बढाउने, मुद्रास्फीति चुल्याउने, तथा ढुवानी खर्च बढेर वस्तु तथा सेवाको मूल्यसमेत महँगिने सम्भावना छ।
चीनसँगभन्दा पनि धेरै आयात भारतबाट हुने भएकाले, भारतमा मूल्यवृद्धिको प्रभाव नेपालमा समग्र उपभोग्य वस्तु, निर्माण सामाग्री, तथा सार्वजनिक यातायात खर्चसम्ममा व्यापक असर पार्नेछ। यसले नेपालको आयात–निर्भर अर्थतन्त्रमा आर्थिक असन्तुलन गहिर्याउने खतरा निम्त्याउँछ।