काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरुमा बैंकले सुधार गरेको छ ।
समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ । बैंकलेयो अवधिसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
यस्तै बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.४० प्रतिशतलेब बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८ करोड र सञ्चालन मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ३५ करोड ९८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७ करोड रुपैयाँले धनात्मक बनेको छ । बैंकको रिजर्भ पनि ५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । १ खर्ब ८४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा अनुपात ३.८३ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँबराबर रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ९.२३ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ८.९९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ, तरलता अनुपात ३१.१८ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.९९ प्रतिशत रहेको छ ।