काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा घटाउदै नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज र सञ्चालन खर्च घटेसँगै संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको हो ।
संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था ७ करोड ४४ लाख रुपैयाँ घाटामा थियो ।
संस्थाले समीक्षा अवधिसम्म ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३४ करोड ६१ लाख रुपैयाँ थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ करोड ७० लाखबाट बढेर ४ करोड ७७ लाख पुगेको छ ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा यस्तो रकम ८ करोड ५९ लाख रुपैयाँ थियो । अघिल्लो आवमा ११ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको अन्य सञ्चालन खर्च घटेर ८ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको खराब कर्जा अनुपात भने ह्वात्तै बढेको छ । खराब कर्जा अनुपात ९.९८ प्रतिशतबाट बढेर १४.१४ प्रतिशत पुगेको छ ।
संस्थाको निक्षेप संकलन १ अर्ब ९१ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भको आकार ३५ करोड ९० लाख रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ८ण् लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६६.१९ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १३३१.५८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८२.६३ गुणा र तरलता अनुपात ३.३५ गुणा कायम भएको छ ।