काठमाण्डौ । ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९६१.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ५० करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता समेत १.४० प्रतिशतबाट बढेर १४.११ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । बैंकले आर्जन गरेका यो नाफा अघिल्लो आवको तुलनामा १.०९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशतले घट्दै १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकले १६ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा शुद शुल्क तथा कमिशन आम्दानी भने २ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खु्द सञ्चालन आम्दानी १६ अर्ब ९७ करोड र सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा बैंकले राम्रो सुधार गरेको छ । बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाह पनि ११.४७ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवमा ४.१७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.८७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ६१ करोड रुपैयाँ छुट्टाएको बैंकले समीक्षा अवधिमा भने ४ अर्ब ३० करोड रुपैयाँ छुट्टाएको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १६.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८०९.६१ रुपैयाँ, पीई रेसियो १५.९५ गुणा र तरलता अनुपात ३७.७५ प्रतिशत कायम भएको छ ।