काठमाण्डौ । एप्पलको स्मार्टफोन निर्माता फक्सकनले भारतमा आईफोन १७ को उत्पादन सुरु गरेको छ । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार, यो उत्पादन बेंगलुरुको नयाँ प्लान्टमा सुरु भएको हो ।
भारतको यो युनिट चीन बाहिर फक्सकनको दोस्रो ठूलो निर्माण साइट हो । जसमा करिब २५ हजार करोड भारु लगानी गरिएको छ। यसअघि चीनले भारतमा आइफोन बनाउने ३०० भन्दा बढी इन्जिनियर र प्राविधिकलाई अचानक फिर्ता बोलाएको थियो । जसका कारण आईफोन १७ को उत्पादन अवरुद्ध भएको थियो ।
अब कम्पनीले ताइवानलगायत अन्य देशका विज्ञहरूलाई बोलाएर पुनः उत्पादन सुचारु गरेको हो । यद्यपी आईफोन १७ को उत्पादन भारतमा सानो स्तरमा मात्र सुरु भएको छ। चिनियाँ इन्जिनियरहरूले फक्सकनको हाई–टेक एसेम्बली लाइन, फ्याक्ट्री डिजाइन र भारतीय कर्मचारीहरूलाई प्रशिक्षण दिने काम गरिरहेका थिए।
यसका लागि भारत सरकारले चिनियाँ इन्जिनियरहरूलाई उत्पादनमा कुनै अवरोध नहोस् भनेर भिसाको सुविधा पनि दिएको थियो । चीनलाई पछि पार्दै भारत अमेरिकामा स्मार्टफोनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । रिसर्च फर्म क्यानालिसका अनुसार अमेरिकामा आयात गरिएका स्मार्टफोनमा मेड इन इन्डियाको हिस्सा यस वर्षको अप्रिल–जुनमा ४४ प्रतिशत थियो ।
यो वर्ष जुनसम्म भारतमा २.३९ करोड आईफोन बनेका छन् । अमेरिकामा बिक्री हुने आईफोनको ७८ प्रतिशत भारतमा बन्ने गरेको छ ।