काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोशी प्रदेशका प्रदेश प्रमुख, क्लस्टर प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरुका लागि ‘सेमिनार अन कोशी लिडरसिपः इन्स्पायरिङ पर्फर्मन्स एन्ड एचिभिङ एक्सीलेन्स’ विषयक सेमिनार आयोजना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा सहभागीहरुले बैंकको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा गर्नुका साथै केन्द्रीय र प्रादेशिक कार्यालयहरुबीचको सहकार्यलाई सुदृढ गर्न गहिरो अन्तरक्रियालाई प्रवर्द्धन गर्दै चालु आर्थिक वर्षका प्राथमिकताका बारेमा छलफल गरेका थिए ।
हालै मधेस र बाग्मती प्रदेशमा पनि यस्तै गोष्ठी आयोजना गरिएको र कोशी प्रदेशमा हुने कार्यक्रमले सो पहललाई निरन्तरता दिएको बैंकले जनाएको छ ।
बैंकले निकट भविष्यमा अन्य प्रदेशमा पनि यस्ता नेतृत्वदायी कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।