काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुन सुरु भएको छ । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिनालाई लाभांश घोषणाको सिजन पनि मानिन्छ ।
हालसम्म १० कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १० कम्पनीले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेका छन् ।
लाभांश घोषणा गर्नेमा अधिकांश बैंकहरु रहेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड छन् ।
त्यस्तै, हाइड्रो समूहतर्फ सिक्लेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् भने लगानी समूहतर्फ हाथवे इन्भेष्टमेन्ट नेपाल र उत्पादन तथा प्रशोधन समूहतर्फ नेपाल ल्युव आयल रहेका छन् ।
गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा नेपाल ल्युव आयल नै रहेको छ । यो कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सबैभन्दा थोरै लाभांश दिने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । यो कम्पनीले जम्मा ६.३१ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका १० कम्पनीमध्ये माछापुच्छ्रे बैंक र हाथवे इन्भेष्टमेन्ट कम्पनीको बुकक्लोज भइसकेका छ भने बाँकी ८ कम्पनीको बुकक्लोज हुन बाँकी छ । ८ मध्ये कामना सेवा विकास बैंकले असोज ८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ७ गतेसम्म कायम सेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउनेछन् ।
यसबाहेक ७ कम्पनीले भने अझै बुकक्लोजको मिति तोकेको छैन । यसर्थमा यी कम्पनीहरुको सेयर खरिद गरेमा अझै लाभांश पाउन सकिनेछ ।
