काठमाण्डौ । पछिल्लो समय एआईको चर्चा विश्वभर भईरहेको छ । यसको राम्रो कामको जति प्रशंसा भइरहेको छ, यसको साइड इफेक्टको पनि उत्तिकै आलोचना भइरहेको छ। त्यसकारण, धेरै विश्व नेताहरू, वैज्ञानिकहरू र नोबेल पुरस्कार विजेताहरूले एआई सम्बन्धी कडा नियमहरूको माग गरेका छन्।
न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय सप्ताह सुरु हुँदा दुई सयभन्दा बढी व्यक्तिले यो माग उठाएका छन् । उनीहरुले सन् २०२६ सम्म, विश्वभरका देशहरूले एआईको प्रयोगलाई नियन्त्रण गर्ने र यसको दुरुपयोग हुन नदिने नियमहरू बनाउन एकजुट हुनुपर्ने बताएका छन् । नियमहरूको लागि आह्वान गर्नेहरूमा एआईका गॉडफादर जेफ्री हिन्टन पनि रहेका छन् ।
संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सप्ताहमा एआईका लागि नियमहरूको माग गर्दै आएका मानिसहरूले ुग्लोबल कल फर एआई रेड लाइन्सु नामक वक्तव्य जारी गरेका छन्। उनीहरुले एआईको प्रयोग विश्वका लागि खतरनाक हुनसक्ने बताएका छन् । त्यसैले सन् २०२६ सम्ममा यसका लागि कडा नियम बनाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका छन्। नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले एआई जुन गतिमा बढिरहेको छ त्यसले समाजमा ठूलो खतरा निम्त्याउन सक्ने बताइन् ।एआई के प्रयोग गर्न सकिन्छ र के गर्न सकिँदैन भन्ने विषयमा विश्वका सरकारहरूले अन्तर्राष्ट्रिय सम्झौता गर्नुपर्ने उनले बताइन् ।
विज्ञहरुले एआईलाई समयमै सीमित गर्न कडा कदम चालिएन भने एआईले बेरोजगारी, मानवअधिकार उल्लङ्घन र महामारी जस्ता खतराहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन् । हालैका वर्षहरूमा एआईको दुरुपयोगका धेरै घटनाहरू प्रकाशमा आएका छन्। विशेषगरी एआईको प्रयोगका कारण किशोरकिशोरीमा आत्महत्याका घटना बढिरहेका छन् । एआईलाई हतियार बनाउन, नक्कली समाचार फैलाउन वा मानव अधिकारको विरुद्धमा पनि प्रयोग गर्न सकिन्छ।
एआईका गॉडफादर जेफ्री हिन्टन पनि एआईका लागि नियमहरूको माग गर्ने प्रस्तावमा हस्ताक्षर गर्नेहरूमध्ये छन्। उनी बाहेक नोबेल पुरस्कार विजेता जेनिफर डौडना, डारोन एसेमोग्लु र जर्जियो पेरिसीले पनि हस्ताक्षर गरेका थिए।