काठमाण्डौ । नेपाल वायुसेवा निगमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा हराएका तथा चोरी भएका सामान बुझाउन आग्रह गरेको छ । निगमले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा लुटिएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको हो ।
सूचनामा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरिएको छ ।
उक्त क्रममा नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको निगमले जनाएको छ ।
‘तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिनेछ,’ सूचनमा उल्लेख छ ।