आईतवार, श्रावण १०,२०८३ 06:48:54
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:48:54
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको आक्रोशः “एक करोडको सेयर ३० लाखमा पुगिसक्दा समेत नियामक घाम तापेर बसे, अब सहँदैनौं”

लगानीकर्ताको आक्रोशः “एक करोडको सेयर ३० लाखमा पुगिसक्दा समेत नियामक घाम तापेर बसे, अब सहँदैनौं”
New Office

काठमाण्डौ । लगातार गिरावटले थला परेको सेयर बजारप्रति लगानीकर्ताहरूको असन्तोष चरममा पुगेको छ।

बजार लगातार खस्कँदै जाँदा केही लगानीकर्ताहरू नियामक निकाय(धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक)धाउने गरेका छन् भने अरूले आफ्नै कार्यालयहरूमा बैठक गर्दै बजारको समीक्षा र नियामकको आलोचना गर्न थालेका छन्।

शुक्रबार नेपाल सेयरधनी संघको कार्यालयमा बसेको लगानीकर्ताहरूको भेलामा उनीहरूले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुबैको कडा आलोचना गरे।  

अहिले यी दुबै संस्थाका कर्मचारीहरू आफैं आन्दोलनरत छन्, जसका कारण लगानीकर्ताको असन्तोष अझ बढेको देखिन्छ।

संघका संस्थापक अध्यक्ष नानीबाबु खरेलले भने, “नियामक निकायले लगानीकर्ताको आवाज सुन्नै छोडेको छ। या त उनीहरूले प्रभावकारी रूपमा काम गर्नुपर्छ, हैन भने राजीनामा दिएर हिँड्नुपर्छ। आफ्नै स्वार्थका लागि आन्दोलन गर्ने संस्था लगानीकर्ताको हितमा कहिल्यै हुनसक्दैन।”

उनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र नेप्सेका सीईओको भूमिकामाथि पनि प्रश्न उठाए। “गेटमै लगानीकर्तालाई रोक्ने, ज्ञापनपत्र व्हाट्सएपबाट पठाउन भन्नु कस्तो नियामकको शैली हो ? यस्तो उपेक्षा हामीले धेरै सह्य गर्न सक्दैनौं,” उनले आक्रोश पोख्दै भने।

खरेलका अनुसार, “सरकारले चाहे धितोपत्र बोर्ड र नेप्सेका सबै कर्मचारी बर्खास्त गर्न सक्छ। जब लगानीकर्ताको पूँजी खरानी हुन्छ, नियामक मौन बस्ने हो भने त्यस्तो निकायको के आवश्यकता ?”

 

उनले थपे, “हाम्रो एक करोडको पूँजी अहिले ३० लाखमा झर्‍यो। ७० लाख लगानीकर्ता घर न घाटका भएका छन्। दशैं-तिहार हाम्रा लागि पीडाको पर्व बनेको छ। बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा छौं।”

 

अर्का लगानीकर्ता भास्कर घिमिरेले भने, बजारमा लगानीकर्ताको मनोबल घटिरहेको र नियामक निकायले नै उनीहरूलाई “मोटिभेट” गर्नुपर्ने बेला आएको बताए। “सही सूचना प्रवाह र पारदर्शिता आवश्यक छ। बजारमा केही ब्रोकर र ठूला खेलाडीबीच मिलेमतोको कुरा पनि सुनिन्छ। साधारण लगानीकर्तालाई सीमित (लिमिट) सुविधा नदिइ, टाठाबाठालाई मात्र विशेष पहुँच दिने प्रवृत्ति रोक्नुपर्छ,” उनले भने।

उनले ब्रोकर र लगानीकर्ता बीचको अविश्वास अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।

त्यसैगरी, कार्यलयमै उपस्थित अर्को लगानीकर्ताले चेतावनी दिँदै भने, “अब हाम्रो धैर्यताको बाँध फुटिसक्यो। तिहारपछि कडा आन्दोलन सुरु हुन्छ। हामीले देशभरका लगानीकर्तालाई काठमाडौं बोलाएका छौं। नियामक निकायले पाएको समयसीमा पनि आज सकिँदै छ, त्यसपछि वार कि पार हुनेछ।”

लगानीकर्ताहरूको साझा गुनासो एउटै छ-बजार दैनिक तल गइरहेको छ, तर नियामकहरू ‘घाम तापेर बसिरहेका छन्’।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.