काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंक तथा वित्तीय संस्थाहरुमा चलाएको अनुसन्धान तथा धरपकडको विषयमा छलफल गर्न नेपाल राष्ट्रबैंकले आज साँझ पुनः सञ्चालक समितिको बैठक बोलाएको छ ।
आज बिहान समेत मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई फाइनल गर्न बोर्ड बैठक बोलाइएको थियो । बिहान निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बोर्डले व्यवस्थापनबाट तयार गरिएको मौद्रिक समीक्षा पारित गरेको थियो ।
'बिहानको बैठक केही ढिलो गरी सुरु भयो । मौद्रिक समीक्षाको विषयमै अजेण्डाहरु केन्द्रीत थिए र सोहीअनुसार छलफल भयो । आज बिहानको बैठकमा प्रभू बैंकका सीईओ, डिसीईओ पक्राउ परेको, राष्टबैंकको अधिकारमाथि हस्तक्षेप गर्दा सिस्टमेटिक रिस्क बढेको लगायतका विषयमा कुनै छलफल भएन । बैंकहरुमा भएको धरपकडको विषयमा कसैले केही पनि कुरा गरेन ।' बैठकमा सहभागी एक सञ्चालकले भने- 'बाँकी विषयमा कुराकानी गर्न भनेर पुनः आज साँझ सञ्चालक समितिको बैठक बोलाइएको छ ।'
ती सञ्चालकले राष्ट्रबैंकको उच्च व्यवस्थापनले अनुसन्धान विभाग बाहेकका विभागबाट आएका अजेण्डाहरुमाथि छलफल गर्न भन्दै बैठक बोलाएको बताए । 'आज अफिस आवर पछि पुनः बोर्ड बस्दैछ ।' ती सञ्चालकले भने -'हामी सञ्चालकहरुको तर्फबाट आज साँझको बैठकमा बैंकिङ क्षेत्रमा पछिल्लो समयमा विकसित घटनाक्रमको विषयमा कुरा उठाउनेछौं । सम्भवतः उच्च व्यवस्थापनले पनि यो विषयमा कुरा उठाउला नै ।'
सीआईबीले हिजो अपरान्ह प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललगायत ३ उच्चपदस्थलाई पक्राउ गरेको थियो । मुख्य कार्यालयबाटै पक्राउ परेका उनीहरुविरुद्ध बैंकिङ कसूरअन्तर्गत अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।
यो घटनापछि कतिपयले राष्ट्रबैंकको कमजोर नियमन तथा नेतृत्वको फाइदा प्रहरीले उठाएको र सीआईबीले बैंकिङ क्षेत्रको सम्वेदनशीलता नबुझेको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले भने राष्ट्रबैंकका जिम्मेवार अधिकारीहरु नै बैंक तथा वित्तीय संस्थाको प्रभावमा पर्दा दोषीहरु उम्किने अवस्था बनेको र यही बेला सीआईबीले अपरेशन चलाएकोमा खुशी व्यक्त गरिरहेका छन् । राष्ट्रबैंकको आज साँझ बस्ने सञ्चालक समितिको बैठकमा यी दुवै एंगलका विश्लेषणमा केन्द्रीत रहेर छलफल गर्ने र पछिल्लो परिस्थितिको विषयमा आफ्नो धारणा बनाउनसक्ने बुझिएको छ ।

