काठमाण्डौ । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । विभागले नयाँ प्रणालीमा जाँदा तीन हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।
अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला÷इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ ।
साथै नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले उल्लेख गरेको छ ।
उक्त अवस्थालाई मध्यनजर गर्दै विभागले आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरेको छ ।

