काठमाण्डौ । नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाण्डौ उपत्यकामा पहिलोपटक रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ। काठमाण्डौ महानगरपालिकाको पहलमा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा उक्त सेवा आजदेखि सुरु गरिएको हो।
रात्रिकालीन विद्युतीय बस सेवा साझा यातायात सँगको सहकार्यमा सञ्चालन भइरहेको छ। प्रारम्भिक चरणमा दुई वटा रुटमा सेवा उपलब्ध गराइएको छ, जसअन्तर्गत बुढानीलकण्ठदेखि लगनखेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म बस सञ्चालन हुनेछन्।
यो सेवा दैनिक राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने प्रत्येक २० मिनेटको अन्तरालमा बस उपलब्ध रहने जनाइएको छ। यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा सीसीटिभी निगरानीको व्यवस्था गरिएको छ भने एक जना नगरप्रहरी समेत खटाइने व्यवस्था गरिएको छ।
महानगरपालिकाका अनुसार, रात्रिकालीन समयमा सुरक्षित, भरपर्दो र वातावरणमैत्री सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो। साथै, आगामी दिनमा अन्य स्थानीय तह तथा सरोकारवालासँग सहकार्य गर्दै सेवा उपत्यकाभर विस्तार गर्ने योजना रहेको जनाएको छ।

