काठमाण्डौ । चीनले इरानलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यस्तो आरोपलाई पूर्ण रूपमा मनगढन्ते भन्दै यदि अमेरिका यसै बहानामा थप आर्थिक प्रतिबन्ध वा ट्यारिफ लगाउने प्रयास गर्छ भने त्यसको दृढ जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चीनले इरानलाई हतियार आपूर्ति गरेको पुष्टि भएमा चीनमाथि ५० प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाइने चेतावनी दिएका थिए। यसै सन्दर्भमा मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले प्रतिक्रिया दिँदै अमेरिकी दाबीलाई अस्वीकार गरेका हुन्।
प्रवक्ता गुओले चीनले सधैं हतियार निर्यातमा जिम्मेवार र सन्तुलित नीति अपनाएको उल्लेख गर्दै घरेलु कानून, नियम तथा अन्तर्राष्ट्रिय दायित्वअनुसार कडा नियन्त्रण लागू गरिएको बताए। उनले भने, ‘यदि अमेरिका तथाकथित हतियार निर्यातको बहाना बनाएर थप ट्यारिफ लगाउँछ भने चीनले त्यसको कडा प्रतिवाद गर्नेछ।’
यसैबीच, केही अन्तर्राष्ट्रिय रिपोर्टहरूमा चीनले इरानलाई प्राविधिक सहयोग प्रदान गरिरहेको दाबी गरिएको छ। ती रिपोर्टहरूअनुसार चीनले आफ्ना स्याटेलाइट प्रणालीमार्फत अमेरिकी नौसेना र सैन्य अड्डासम्बन्धी जानकारी उपलब्ध गराइरहेको बताइएको छ।
अमेरिकाले इरानका लागि जीपीएस सेवा सीमित गरेपछि इरानले चीनको बिईडोगु नेभिगेसन सेटेलाइट सिस्टम प्रयोग गरिरहेको पनि उल्लेख गरिएको छ। साथै, चीनले दोहोरो प्रयोग गर्न मिल्ने प्रविधि र उपकरणहरू उपलब्ध गराइरहेको र ती साधनहरू इरानले आफ्ना सैन्य आवश्यकताका लागि प्रयोग गरिरहेको दाबी गरिएको छ।
यस घटनाले अमेरिका–चीन सम्बन्धमा थप तनाव सिर्जना गर्ने संकेत देखिएको छ।

