काठमाण्डौ । कोशी प्रदेशमा सञ्चालित एक बिस्कुट उद्योगबाट उत्पादित ‘गुडलाइफ’ ब्राण्डको डाइजेस्टिभ बिस्कुटमा गम्भीर गुणस्तर समस्या भेटिएको छ। उत्पादनमा रौं फेला परेपछि सम्बन्धित कम्पनीलाई कारबाही गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिलाई २ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको हो। विभागले उक्त रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
विभागका अनुसार कम्पनीबाट उत्पादन भएको ‘डाइजेस्टिभ नट्स बिस्कुट’ गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक देखिएको छ। यो निर्णय बैशाख ४ गते गरिएको जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरंग को संयुक्त अनुगमनका क्रममा उक्त बिस्कुटमा रौं फेला परेको थियो। नमूना परीक्षणपछि उत्पादन नै अस्वस्थकर रहेको पुष्टि भएको हो।
उक्त उद्योगमा कोशी प्रदेशका उद्योगी महेश जाजू र पवनकुमार सारडाको मुख्य लगानी रहेको बताइएको छ। कम्पनीले विशेषगरी मधुमेह रोगीलाई लक्षित गर्दै ‘डाइजेस्टिभ नट्स’ बिस्कुट उत्पादन गर्दै आएको थियो।
यस्तो संवेदनशील उत्पादनमै गम्भीर कमजोरी देखिएपछि सो उद्योगका अन्य उत्पादनहरूको गुणस्तरप्रति पनि प्रश्न उठ्न थालेको छ। उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नियामक निकायले थप निगरानी कडाइ गर्ने संकेत दिएका छन्।

