काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साताको अन्तिम दुईदिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२१ प्रतिशत अर्थात ३३.२८ अंकले घटेर २ हजार ७०१.३२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ४७१.४९ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको १ करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ६ अर्ब ७ करोड १८ लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘आजको बजारलाई करेक्सन भन्न मिल्दैन । कारोबार समयसम्म सामान्य अंकको उतारचढाव देखिएको बजार बन्द हुँँदा सम्म ३३ अंकले घट्नु सामान्य होइन । करेक्सन र नाफा बुक हुनलाई यो भन्दा अघिल्ला दिनहरुमा बजार त्यति राम्रो बढेको पनि छैन । यसर्थमा अझै पनि लगानीकर्ताहरुमा कन्फिडेन्ट नआईसकेको बुझ्न सकिन्छ ।’
उनले थपे, ‘बजारमा केही ट्रेडरहरु मात्रै सक्रिय छन्, जसकारण थोरै भोल्युम बढेको छ तर दीर्घकालिन लगानीकर्ता भने बजारमा अझै पनि सेयर किन्न अन्योलनमा देखिन्छन् । यसरी साताको पहिलो कारोबार दिनमै उच्च अंकले बजार घट्दा साताभरी नै यसको प्रभाव पर्न सक्छ । अझैपनि बजारमा डिबेञ्चरहरुकै उच्च कारोबार भइरहेको छ, संस्थागत लगानीकर्ताहरु डिबेञ्चरतर्फ आकर्षित छन् । फन्डामेन्टल राम्रा कम्पनीहरुको सेयरमूल्य नबढ्दासम्म बजार माथि जाने सम्भव रहँदैन । यदि सरकारले केही पोजेटिभ कुराहरु ल्याएमा भदौ १५ सम्म बजार राम्रै अंकले माथि जान सक्ने सम्भावना रहन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज बैंकिङ र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.१० र ०.१५ प्रतिशतले बढे ।
उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात २.३० प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह १.८२ प्रतिशत, फाइनान्स ०.७०,होटल २.२२, हाईड्रो १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, लघुवित्त १.२७, निर्जीवन बीमा १.२१, अन्य १.६९ र व्यापार २.२३ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३३ करोड ८६ लाख बढीको सेयर कारोबार भयो । यस्तै ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख, रिडी पावरको २२ करोड १३ लाख, कुमारी बैंकको १७ करोड २२ लाख र सेन्ट्रल फाइनान्सको १५ करोड ९९ लाख बढीको कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै गोर्खाज फाइनान्सको सेयरमूल्य ३.८६ प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्य ३.११ प्रतिशतले बढ्यो ।
यो दिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १३.३८ प्रतिशतले घट्यो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.६३ प्रतिशत र कालंगा हाईड्रोको सेयरमूल्य ८.५२ प्रतिशतले घट्यो ।

