काठमाण्डौ । नेपालको यातायात पूर्वाधार क्षेत्रमा नयाँ अध्याय थप्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब एक दशकको तयारी, चुनौती र प्राविधिक जटिलतापछि सञ्चालनमा आएको यो आयोजना केवल एउटा सुरुङ नभई नेपालको आधुनिक सडक पूर्वाधार विकासको महत्वपूर्ण कोसेढुंगा बनेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा जाइकाका अध्यक्ष तानाकाले नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने परियोजनाका रूपमा व्याख्या गरे।
उनले यो आयोजना भौतिक संरचना निर्माणमा मात्र सीमित नभई नेपाल–जापानबीचको सात दशक लामो सहकार्यको प्रत्यक्ष उदाहरण भएको बताए।
जापानी सहयोगमा निर्माण भएको यो परियोजनाले नेपालमा सुरुङ निर्माण, सञ्चालन र मर्मतसम्भारसम्बन्धी नयाँ प्रविधि तथा सीप भित्र्याएको अधिकारीहरूको भनाइ छ।
जाइका अध्यक्ष तानाकाका अनुसार नेपाल र जापानबीच सुरुङ पूर्वाधारसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि नयाँ सहकार्य परियोजना सुरु गरिएको छ। यसले आगामी दिनमा नेपालमा निर्माण हुने अन्य सुरुङ आयोजनाका लागि दक्ष जनशक्ति विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
जापानी राजदूत माएदा तोरुले परियोजना निर्माणमा जापान सरकारको विकास सहायता (ओडीए) तथा नेपाली इन्जिनियर, प्राविधिक र श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सुरुङ निर्माणबाट हस्तान्तरण भएको ज्ञान, प्रविधि र सुरक्षा मापदण्ड नेपालको भविष्यका पूर्वाधार आयोजनाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा क्षेत्र लामो समयदेखि काठमाडौं प्रवेश गर्ने प्रमुख तर जोखिमपूर्ण मार्गका रूपमा रहेको बताए। अत्यधिक सवारी चाप, साँघुरो सडक र पहिरोको जोखिमका कारण यात्रुहरूले वर्षौंदेखि समस्या भोग्दै आएका थिए।
सुरुङ सञ्चालनसँगै काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय घट्ने, इन्धन खपत कम हुने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ। विसं २०७६ कात्तिक २८ गते निर्माण सम्झौता भएको आयोजना प्रारम्भिक समयसीमाभित्र सम्पन्न हुन सकेन।
ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी र स्थानीय अवरोधका कारण निर्माण प्रभावित भएपछि आयोजनाको समय पटक–पटक थप गरिएको थियो। अन्ततः लामो प्रतीक्षापछि यो सुरुङ सञ्चालनमा आएको हो।
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिसकेको छ। राजपत्रअनुसार हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ।
त्यस्तै, मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः १२५ र ८० रुपैयाँ, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि २६० र २०० रुपैयाँ तथा ठूला ट्रक र भारी उपकरणका लागि प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।
नेपालकै पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गले यातायात सहज बनाउनुका साथै भविष्यका ठूला पूर्वाधार परियोजनाका लागि नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।

