काठमाण्डौं, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन्।
२०७८ फागुन ९ गते अध्यक्षमा नियुक्त भएका गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने पार्टी नेतृत्व, केन्द्रीय कार्यसमिति, पूर्वअध्यक्ष, जिल्ला सभापति तथा देशभरका तरुण कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्।
राजीनामा पत्रमा उनले तोकिएको समयभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको स्वीकार गरेका छन्।
पार्टीले २०८३ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने लक्ष्य राखे पनि पछिल्ला राजनीतिक परिस्थितिले त्यसमा असर पारेको उनको भनाइ छ।
गुरुङले लोकतन्त्रको सुदृढीकरण र नयाँ राजनीतिक जनादेशलाई संस्थागत गर्न तरुण दललाई समयानुकूल रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
साथै संगठनलाई सक्रिय र प्रभावकारी बनाउन नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले आफू पदबाट अलग भएको उनले स्पष्ट पारेका छन्।
उनको राजीनामापछि तरुण दलको नेतृत्व र आगामी महाधिवेशन प्रक्रियाबारे पार्टीभित्र नयाँ छलफल शुरु हुने अपेक्षा गरिएको छ।

