इलाम, छिमेकी भारतले नेपाली चियामा लगाएको नयाँ कडाइले नेपाली चिया संकटमा परेको छ ।
मे १, २०२६ देखि लागू हुने नयाँ नियमले नेपालबाट निर्यात हुने चियाको अनिवार्य ल्याब परीक्षण गर्नुपर्ने व्यवस्था लागू भएपछि नेपाली निर्यात प्रणाली नै दबाबमा परेको हो ।
यसअघि एक गाडीको परीक्षणकै आधारमा अन्य खेपलाई समेत अनुमति दिने अभ्यास रहेकामा अब प्रत्येक खेपका लागि छुट्टाछुट्टै परीक्षण अनिवार्य गरिँदा समय र लागत दुवै बढ्ने निश्चित छ।
व्यवसायीहरूका अनुसार यो प्रक्रिया केवल प्राविधिक कडाइ मात्र नभई अप्रत्यक्ष व्यापार अवरोधका रूपमा देखिन थालेको छ।
परीक्षण शुल्क, ढुवानी ढिलाइ र भण्डारण खर्चले निर्यात नै असम्भव हुने सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ ।
परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने भएकाले चिया रोकिने, गुणस्तर घट्ने र अन्ततः घाटा व्यहोर्नुपर्ने जोखिम बढेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालबाट निर्यात हुने करिब ८६ प्रतिशत चिया भारतमै जाने भएकाले यो निर्भरता अहिले सबैभन्दा ठूलो कमजोरीका रूपमा देखिएको छ।
भारतले विगतमा पनि विभिन्न कारण देखाउँदै नेपाली चिया रोकेको इतिहास रहेको सन्दर्भमा यसपटकको औपचारिक कडाइले दीर्घकालीन असर पार्ने चिन्ता बढेको छ।
नेपाली हरियो पत्ती चिया भारतले किनेर ‘दार्जिलिङ’ ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने, तर तयारी चियामा गुणस्तरको बहाना बनाउँदै अवरोध गर्ने प्रवृत्तिले पनि नेपाली चिया ब्यावसायी समस्यामा परेका छन् ।
यो अवस्थाले व्यापारिक असन्तुलन मात्र होइन, ब्रान्ड र मूल्य अभिवृद्धिमा समेत नेपाली चिया पछी पर्ने नेपाली चिया उत्पादकको चिन्त छ ।
नेपाली प्रयोगशालाबाट गरिएको परीक्षणलाई मान्यता दिलाउनेदेखि वैकल्पिक बजार खोज्नेसम्मका कदम समयमै चाल्न नसकिए इलाम लगायतका चिया उत्पादन क्षेत्रमा निर्भर हजारौँ किसान र श्रमिक प्रत्यक्ष प्रभावित हुने देखिन्छ ।
नेपालमा ऐतिहासिक रूपमा विकास भएको चिया उद्योग अहिले रोजगारी र वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण आधार बनेको छ।
तर, नीतिगत दबाब र एकमात्र बजारमा निर्भरता कायम रहेमा, यो क्षेत्र दीर्घकालीन सङ्कटतर्फ धकेलिने जोखिम बढ्दै गएको देखिन्छ।

