मंगलवार, जेष्ठ ५,२०८३ 10:56:31
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:56:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीओ बेचेर पैसा उठाए, वास्तविकता भने घाटामै !

सूचीकृत अधिकांश नयाँ कम्पनीको वित्तीय अवस्था कमजोर, लगानीकर्ताको पैसा जोखिममा

Laxmi Sunrise Bank Limited
आईपीओ बेचेर पैसा उठाए, वास्तविकता भने घाटामै !
Shivam Cement

काठमाण्डौ । पछिल्लो एक वर्षयता नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धमाधम आईपीओ निष्कासनको अनुमति दिएसँगै सर्वसाधारण लगानीकर्ताको पैसा उच्च जोखिममा पर्न थालेको देखिएको छ । बजारमा आएका नयाँ कम्पनीहरूको तेस्रो त्रैमाससम्मको वास्तविक वित्तीय अवस्था हेर्दा आईपीओ निष्कासनअघि प्रस्तुत गरिएका आकर्षक प्रक्षेपण र अहिलेको वास्तविक अवस्था बीच ठूलो अन्तर देखिएको हो ।

Bizshala
New Office
CG Motors

विशेषगरी जलविद्युत कम्पनीहरूको हकमा ‘नेटवर्थ ९० रुपैयाँभन्दा माथि’ भन्ने आधारलाई मात्रै प्राथमिकता दिँदै सेबोनले धमाधम आईपीओ स्वीकृत गर्दा कमजोर कम्पनीहरू समेत सर्वसाधारणको पैसा उठाउन सफल भएका छन् । तर सूचीकृत भइसकेपछि सार्वजनिक भएका वित्तीय विवरणहरूले भने धेरै कम्पनीको वास्तविक अवस्था कमजोर रहेको पुष्टि गरेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनासम्म मात्रै सेबोनले २४ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । तीमध्ये आधा कम्पनी नेप्सेमा सूचीकृत भइसकेका छन् भने बाँकी दोस्रो बजारमा प्रवेश गर्ने तयारीमा छन् । यद्यपि, पछिल्लो एक वर्षमै ३० भन्दा बढी कम्पनीले सर्वसाधारणबाट पूँजी उठाइसकेका छन् ।

तर ती कम्पनीहरूको चालु आवको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन हेर्दा अधिकांशको अवस्था सन्तोषजनक देखिँदैन । केही कम्पनी नाफामा भए पनि मुनाफा खस्किएको छ भने ठूलो हिस्सा घाटामा सञ्चालन भइरहेको देखिएको छ ।

वित्तीय विवरणअनुसार बजारमा आएका नयाँ कम्पनीहरूमध्ये बन्दिपुर केबलकार, बुङ्गल हाइड्रो लिमिटेड, माबिलुङ इनर्जी, सालपा विकास बैंक, दरमखोला हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर डेभलपमेन्ट र सागर डिष्टिलरी घाटामा छन् ।

झन् केही कम्पनीको घाटा निरन्तर बढ्दो क्रममा देखिन्छ । उदाहरणका लागि, शिखर पावर डेभलपमेन्ट गत वर्ष ३२ लाख रुपैयाँ घाटामा रहेकोमा चालु आवको चैतसम्म ४ करोड ८६ लाख रुपैयाँभन्दा बढी घाटामा पुगेको छ । दरमखोला हाइड्रोपावर पनि गत वर्ष ३ करोड ५२ लाख रुपैयाँ नाफामा रहेकामा अहिले ३ करोड ३४ लाख रुपैयाँ घाटामा पुगेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यता, बुङ्गल हाइड्रो लिमिटेडको घाटा केही घटे पनि कम्पनी अझै नकारात्मक अवस्थामै छ । बन्दिपुर केबलकार र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकजस्ता कम्पनीहरू सञ्चालन नाफा नै निकाल्न संघर्षरत देखिन्छन् ।

यद्यपि, सबै कम्पनीको अवस्था भने उस्तै छैन । स्वस्तिक लघुवित्त, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, झापा इनर्जी तथा सुपर खुदी हाइड्रोपावरजस्ता केही कम्पनीले नाफा कमाएका छन् । तर यिनमध्ये पनि केहीको नाफा वृद्धिदर अस्वाभाविक देखिन्छ भने केहीको लाभ टिकाउ हुनेमा विश्लेषकहरूले प्रश्न उठाउन थालेका छन् ।

विशेष चासोको विषय के छ भने, आईपीओ निष्कासनका बेला कम्पनीहरूले प्रस्तुत गर्ने प्रक्षेपित वित्तीय विवरण र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिन थालेको छ । आईपीओ बेच्ने क्रममा कम्पनीहरूले उच्च आम्दानी, आकर्षक प्रतिफल र बलियो वित्तीय भविष्यको चित्र प्रस्तुत गर्ने गरेका छन् । तर सूचीकरणपछि सार्वजनिक हुने वास्तविक वित्तीय प्रतिवेदनले ती दाबीहरू धेरैजसो अवस्थामा टिक्न नसकेको देखिएको हो ।

यसले आईपीओ अनुमतिका लागि पेश गरिने वित्तीय प्रक्षेपणको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ । बजार जानकारहरूका अनुसार केही कम्पनीले आईपीओ बेच्नकै लागि ‘कागजी आकर्षण’ सिर्जना गर्ने, आक्रामक प्रोजेक्सन देखाउने र सर्वसाधारणबाट पैसा उठाइसकेपछि वास्तविक अवस्था बाहिर आउने प्रवृत्ति बढेको छ ।

लगानीकर्ताहरूले समेत पछिल्लो समय “आईपीओको बाढी रोक्नुपर्ने” वा “बलिया र वित्तीय रूपमा सक्षम कम्पनीलाई मात्रै अनुमति दिनुपर्ने” माग उठाउँदै आएका छन् । तर सेबोनले गुणस्तरभन्दा संख्या बढाउने नीतिमा जोड दिएको आरोप बढ्दै गएको छ ।

विशेषगरी जलविद्युत कम्पनीहरूमा नेटवर्थलाई मात्रै आधार बनाएर अनुमति दिने अभ्यासले भविष्यमा बजारमा थप विकृति निम्त्याउन सक्ने चिन्ता व्यक्त हुन थालेको छ । किनभने नेटवर्थ सकारात्मक हुनु मात्रै कम्पनीको दीर्घकालीन क्षमता, नगद प्रवाह, नाफा टिकाउपन र लगानी सुरक्षाको ग्यारेन्टी होइन ।

अझ अहिले बजारमा आएका कतिपय कम्पनीको ईपीएस निकै कमजोर वा ऋणात्मक अवस्थामा पुगेको देखिन्छ । सागर डिष्टिलरीको ईपीएस ऋणात्मक ६.४९ रुपैयाँ छ भने शिखर पावर डेभलपमेन्टको ऋणात्मक ४.९७ रुपैयाँ रहेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र दरमखोला हाइड्रोपावरको अवस्था पनि कमजोर देखिन्छ ।

विश्लेषकहरूका अनुसार यदि नियामक निकायले आईपीओ अनुमतिमा गुणस्तरीय मूल्यांकन, यथार्थपरक प्रक्षेपण परीक्षण र कडा वित्तीय छानबिन नगर्ने हो भने भविष्यमा सर्वसाधारण लगानीकर्ताको विश्वास नै कमजोर बन्न सक्छ ।

पछिल्लो वित्तीय विवरणहरूले एउटा स्पष्ट सन्देश दिएको छ: आईपीओ बजार अहिले “जति पाइयो उति भर्ने” अवस्था होइन । कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य, नगद प्रवाह, ऋणको अवस्था, परियोजनाको व्यावसायिक सम्भावना र व्यवस्थापनको विश्वसनीयता नहेरी गरिएको लगानी जोखिमपूर्ण हुन सक्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X