काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले डेढ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा १४ जीवन बीमा कम्पनीले १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका हुन् ।
यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १२.०६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा सबै बीमा कम्पनीको व्यवसाय उल्लेख्य बढेको छ । सर्वाधिक प्रिमिमय संकलन गर्नेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १२.५१ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो बढी व्यवसाय आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले १९ अर्ब २ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा १०.६१ प्रतिशत वृद्धि भएको छ ।
यसका साथै एलआइसी नेपालले १६ अर्ब ८४ करोड, हिमालयन लाइफले १४ अर्ब ५५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ९ करोड, सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड, एशियन लाइफले ८ अर्ब १ करोड, सिटिजन लाइफले ६ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९८ करोड, आइएमई लाइफले ५ अर्ब ५० करोड, मेट लाइफले ५ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ९४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ७० करोड र सन नेपाल लाइफले ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा भने आइएमई लाइफ रहेको छ । कम्पनीको व्यवसाय ३१.३० प्रतिशत वृद्धि भएको छ ।


