काठमाण्डौ । बुधबार स्थानीय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन १० हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार उक्त गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य प्रतितोला २ लाख ५० हजार १७० रुपैयाँ पुगेको छ ।
यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ आज १८५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटका कारण नेपाली बजारमा समेत सुनको भाउ आज प्रभावित बन्न पुगेको हो । मध्यपूर्वमा इरान अेमेरिकाबीच पुनः चर्किएको विवाद तथा डलर बलियो बनेसँगै सुनको भाउ विश्वबजारमा आज करिब २ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १.७९ प्रतिशत अर्थात ७६.७४ डलरले घट्दै प्रतिऔंस ४ हजार १८५ डलरमा सीमित बनेको छ । जुन मार्च २३ यताकै सबैभन्दा कमजोर स्तर हो।

