काठमाण्डौ । प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले संसदीय प्रक्रिया, अभ्यास र नियमसम्बन्धी प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ।
संसद भवनभित्रको सभा हलमा सञ्चालन भइरहेको यो प्रशिक्षण कार्यक्रम भोलिसम्म जारी रहने संसद सचिवालयले जनाएको छ।
संसदीय प्रशिक्षण शाखाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा सांसदहरूलाई संसद सञ्चालन प्रक्रिया, विधेयक निर्माण प्रक्रिया, छलफलको नियम, समिति कार्यप्रणाली तथा संसदीय आचरणका विषयमा विस्तृत जानकारी दिइनेछ।
नवनिर्वाचित सांसदहरूमा संसदीय अभ्यास, कानूनी प्रक्रिया तथा सदन सञ्चालनसम्बन्धी आधारभूत ज्ञानको कमी देखिएको भन्दै विभिन्न समयमा आलोचना भइरहेका बेला सचिवालयले यस्तो प्रशिक्षण आयोजना गरेको हो।
संसदमा प्रस्तुत हुने विषयमा पर्याप्त तयारी र प्रक्रियागत समझको अभावका कारण बहस अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणीसमेत हुँदै आएको छ।
सचिवालयका अनुसार प्रशिक्षणको उद्देश्य सांसदहरूलाई संसदीय अभ्यासमा अझ दक्ष बनाउने, विधायन प्रक्रियालाई प्रभावकारी बनाउने तथा सदनको कार्यसम्पादन सुधार गर्ने रहेको छ।
कार्यक्रममा सहभागी सांसदहरूलाई संसदीय नियमावली, प्रस्ताव दर्ता गर्ने प्रक्रिया, प्रश्नोत्तर समयको उपयोग, समितिहरूको भूमिका र संसदभित्रको अनुशासन सम्बन्धी व्यवहारिक पक्षहरूबारे समेत जानकारी गराइँदैछ।
संघीय संसद् सचिवालयले यस्ता प्रशिक्षण कार्यक्रमले सांसदहरूको क्षमता अभिवृद्धि भई संसदको कार्यक्षमता र नीति निर्माण प्रक्रिया अझ प्रभावकारी हुने अपेक्षा गरेको छ।

