काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतको प्रतिस्पर्धा आयोग,‘सीसीआई’ (कम्पिटीसन कमिशन अफ इण्डिया) माथि गम्भीर आरोप लगाउँदै आफ्नो अनुसन्धान निष्कर्षहरू प्रतिस्पर्धी कम्पनीहरूको दाबीलाई आधार बनाएर ‘कपीपेस्ट’ गरिएको दाबी गरेको छ।
एप्पलले जुन २५ मा दायर गरेको एक औपचारिक निवेदनमा भारतीय नियामकले स्वतन्त्र विश्लेषण नगरी म्याच ग्रुप, फोनपे र पेटिएमजस्ता प्रतिस्पर्धी कम्पनीहरूको दाबीलाई नै अनुसन्धान रिपोर्टमा समावेश गरेको आरोप लगाएको छ।
कम्पनीका अनुसार, यस्तो प्रक्रियाले निष्पक्ष अनुसन्धानको सिद्धान्तलाई कमजोर बनाएको छ र भारतमा जारी अनुसन्धानलाई खारेज गर्नुपर्ने माग गरिएको छ।
एप्पलले आफू भारतको स्मार्टफोन बजारमा ६ प्रतिशतभन्दा कम हिस्सासहित सानो खेलाडी भएको बताउँदै, बजारमा आफ्नो प्रभाव अत्यधिक नभएको तर्क प्रस्तुत गरेको छ। कम्पनीले आफ्नो एप स्टोर र भुक्तानी प्रणालीमा परिवर्तन गर्न बाध्य पारिएमा व्यवसायिक मोडेल नै प्रभावित हुने चेतावनी दिएको छ।
एप्पलले नियामकको निष्कर्ष स्वतन्त्र विश्लेषण नभई प्रतिस्पर्धीहरूको दाबीमा आधारित रहेको आरोप पनि दोहोर्याएको छ।
सीसीआईले २०२४ मा प्रारम्भिक निष्कर्ष निकाल्दै एप्पलले एप स्टोरमा दुरुपयोगात्मक व्यवहार गरेको र आफ्नै भुक्तानी प्रणाली प्रयोग गर्न बाध्य पारेको आरोप लगाएको थियो।
आयोगले एप्पलमाथि अनुसन्धान दुई वर्षभन्दा बढी समयदेखि जारी राखेको छ र कम्पनीले प्रक्रियामा ढिलाइ गरेको आरोप पनि लगाएको छ।
यदि एप्पल दोषी ठहर भएमा भारतको कानूनअनुसार कम्पनीको पछिल्ला तीन वर्षको कारोबारको १० प्रतिशतसम्म जरिवाना हुन सक्छ। यसले करोडौँ डलरसम्मको आर्थिक असर पार्न सक्ने अनुमान गरिएको छ।
यस मुद्दामा जुलाई २१ मा सीसीआईले सबै पक्षसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेको छ।

