काठमाण्डौ । वागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न तीनदिने ड्रागन फ्रुट महोत्सवमा उल्लेखनीय कारोबार भएको छ।
महोत्सव अवधिभर करिब १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री भई झण्डै २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ।
हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा आयोजना गरिएको उक्त महोत्सवमा स्थानीय उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको हेटौँडा उपमहानगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास
महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा उत्पादन भइरहेको ड्रागन फ्रुटको बजार विस्तार गर्नु, किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोड्नु तथा स्वदेशी फलफूलप्रति उपभोग बढाउनु रहेको आयोजकले बताएका छन्।
आयोजकका अनुसार कार्यक्रमले नेपाली बजारमा फलफूलको अभाव नभई उपभोक्ताको प्राथमिकता र बजार संरचनामा सुधार आवश्यक रहेको सन्देश दिएको छ।
साथै, स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको पनि महोत्सवमार्फत स्पष्ट भएको बताइएको छ।
किसान–उपभोक्ता प्रत्यक्ष सम्बन्ध मजबुत
महोत्सवले स्थानीय कृषि उत्पादनको प्रवर्द्धनसँगै किसानलाई उचित बजार उपलब्ध गराउने र उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
कृषि विकास शाखाका अनुसार यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक कृषि उत्पादन विस्तारमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सव सम्पन्न भएसँगै आगामी दिनमा पनि यस्ता कृषि प्रदर्शनी तथा बजार प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको छ।

