काठमाण्डौ । असार १५ गते देशभर करिब ७५ लाख लिटर दही खपत भएको छ। दही–चिउरा खाने परम्पराका कारण यस दिन दहीको माग उल्लेखनीय रूपमा बढ्दै करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले जनाएका छन्।
१५ असारमा दही–चिउरा खाने सांस्कृतिक परम्पराका कारण प्रत्येक वर्ष दहीको मागमा उल्लेखनीय वृद्धि हुने गरेको छ। यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशभरका अधिकांश डेरी पसलमा दहीको कारोबार सामान्य दिनको तुलनामा करिब तीन गुणासम्म बढेको देखिएको छ।
संस्थानमार्फत मात्रै करिब एक लाख लिटर दही बिक्री भएको छ, जसको मूल्य करिब एक करोड ४० लाख रुपैयाँ बराबर रहेको छ। तीमध्ये ३० हजार लिटर दही काठमाण्डौ उपत्यकामा र ७० हजार लिटर उपत्यकाबाहिरका जिल्लामा बिक्री भएको छ।
नेपाल डेरी एसोसिएसनकाका अनुसार १५ असारका अवसरमा निजी डेरी उद्योगसहित देशभर करिब एक अर्ब रुपैयाँ बराबरको दही बिक्री भएको छ। पछिल्ला वर्षहरूमा दही–चिउरा खाने परम्परा अझ व्यापक बन्दै गएकाले दहीको खपत निरन्तर बढिरहेको छ ।

