काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार करिब ३ प्रतिशतले घटेको छ । यससँगै यो अक्टोबर २००८ यताकै सबैभन्दा ठूलो मासिक गिरावटतर्फ अघि बढेको छ। बजारमा बढ्दो अमेरिकी ब्याजदरको अपेक्षा र बलियो अमेरिकी डलरले सुनको मूल्यमा दबाब पारेको हो।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुनको मूल्य २.९५ प्रतिशत अर्थात १२० डलरले घटेर प्रतिऔंस ३ हजार ९६१ डलरमा कारोबार भईरहेको छ । यो महिना मात्रै सुन करिब १२.७ प्रतिशतले घटिसकेको छ । यो सन् २००८ पछिकै सर्वाधिक मासिक गिरावट हो । यससँगै सुनको भाउ लगातार चौथो महिना पनि घट्ने क्रममा रहेको छ ।
विश्लेषकहरूका अनुसार, मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनाव केही कम हुँदै जाँदा बजारको ध्यान फेरि अमेरिकी मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। उच्च मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर बढाउने अपेक्षाले सुनमा दबाब सिर्जना गरेको हो। उच्च मुद्रास्फीति, उच्च ब्याजदर अपेक्षा र बलियो डलरले सुनको परम्परागत आकर्षणलाई कमजोर बनाएको जनाइएको छ ।
सामान्यतया सुनलाई मुद्रास्फीतिबाट सुरक्षा दिने सम्पत्ति मानिन्छ, तर ब्याजदर उच्च हुँदा लगानीकर्ताले ब्याज दिने सम्पत्तितर्फ ध्यान दिन थाल्दा सुनको माग घट्ने गर्छ।
बजारले यस वर्ष अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर वृद्धि गर्ने सम्भावना देखाएको छ, जसअनुसार सेप्टेम्बरमा दर बढ्ने सम्भावना करिब ६४ प्रतिशत रहेको अनुमान गरिएको छ।
त्यस्तै, अमेरिकी डलर बलियो बनेको कारण अन्य मुद्रामा लगानी गर्नेहरूका लागि सुन महँगो बनेको छ, जसले थप बिक्री दबाब सिर्जना गरेको छ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको मूल्य २.७४ प्रतिशतले घटेर प्रतिऔंस ५७ डलरमा झरेको छ ।

