काठमाण्डौ । ईरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ईरान र अमेरिकाबीच दोहामा बैठक हुने दाबीलाई अस्वीकार गरेको छ।
ईरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा अमेरिकी पक्षसँग कुनै पनि स्तरको वार्ता वा बैठक नहुने स्पष्ट पारेका छन्। उनले कतारमा अमेरिकी प्रतिनिधिहरूको यात्रा र ईरानी प्रतिनिधिमण्डलको गतिविधिबीच कुनै सम्बन्ध नरहेको पनि बताएका छन्।
त्यसैगरी, ईरानका उप–विदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गरीबाबादीले पनि यस हप्तामा कुनै पनि बैठक तय नभएको पुष्टि गरेका छन्।
यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि आएको हो, जसमा उनले इरानको अनुरोधमा ३० जुन (मंगलबार) दोहामा अमेरिकी र ईरानी प्रतिनिधिहरूबीच बैठक हुने बताएका थिए। अमेरिकी पक्षबाट स्टीभ विट्कफ र जेरेड कुश्नर सहभागी हुने भनिएको थियो।
तर ईरानी अधिकारीहरूले उक्त दाबीलाई स्पष्ट रूपमा अस्वीकार गर्दै हाल कुनै प्रत्यक्ष वा औपचारिक वार्ता प्रक्रिया अघि नबढेको बताएका छन्।

