काठमाण्डौ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडका अनुसार २०८२ असार २४ गते आएको ठूलो हिमबाढीका कारण केन्द्रका अधिकांश संरचना तथा मेसिनरी उपकरणमा गम्भीर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
हिमबाढीपछि आंशिक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरी तीनवटै युनिटबाट विद्युत उत्पादन पुनः सञ्चालनमा ल्याइएको भए पनि आगामी वर्षायाममा सुरक्षित तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने उद्देश्यले आवश्यक थप पुनर्निर्माण कार्यका लागि २०८३ जेठ २६ देखि असार १४ गतेसम्म केन्द्रको विद्युत उत्पादन पुनः बन्द गरिएको थियो।
उक्त अवधिमा गरिएका पुनर्स्थापना तथा मर्मत कार्य सम्पन्न भएपछि असार १५ गतेदेखि केन्द्रबाट विद्युत उत्पादन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।

