काठमाण्डौ । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्ने कार्यसूची तय गरेको हो।
विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि उनीका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो।
निवेदनमा उनलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट आर्जित सम्पत्ति संकलन गरेको आरोपमा अनुसन्धानका लागि गत साता पौडेललाई पक्राउ गरेको थियो। त्यसयता उनी हिरासतमा छन्।

