काठमाण्डौ । सीमा क्षेत्रमा देखिएका समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र असहजता बढेको भन्दै सुस्तावासी काठमाडौँ आएका छन्।
उनीहरूले नेपाली नागरिकता र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)को माग गर्दै माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन्।
सुस्तावासीले लामो समयदेखि समाधान नपाएको आफ्नो मुद्दा पुनः उठाउँदै राज्यले नागरिकता तथा भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न ढिलाइ गरेको आरोप लगाएका छन्।
उनीहरू काठमाडौँ आइपुगेपछि तत्कालै शान्तिपूर्ण धर्नामा बस्ने तयारीमा छन्।
आन्दोलनरत समूहका अनुसार सीमा क्षेत्रमा बसोबास गरे पनि कानूनी नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक प्रशासनिक सेवामा समेत कठिनाइ भोग्नुपरेको छ।
उनीहरूले राज्यले दीर्घकालीन समाधानका लागि ठोस पहल नगरेको गुनासो गरेका छन्।
धर्ना पूर्ण रूपमा शान्तिपूर्ण रहने उनीहरूको भनाइ छ। नागरिकता र लालपुर्जा प्राप्त नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाइने चेतावनीसमेत उनीहरूले दिएका छन्।

