काठमाण्डौ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क वृद्धि भएको जनाएको हो।
शाखाले सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार भिसा शुल्क बढाइएको जानकारी दिएको छ। सूचनाअनुसार यसअघि कोरियन राजदूतावासले भिसा शुल्कबापत १० हजार ७ सय रुपैयाँ लिँदै आएकोमा अब ६ सय रुपैयाँ वृद्धि गरिएको छ। वृद्धिपछि नयाँ भिसा शुल्क ११ हजार ३ सय रुपैयाँ पुगेको छ।
नयाँ शुल्क दर असार १७ गतेदेखि प्राप्त पत्रका आधारमा लागू गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ। ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरेका व्यक्तिहरूले अब सीसीभीआई फाराम भर्दा नयाँ शुल्कअनुसार रकम बुझाउनुपर्नेछ। शुल्क कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरको नाममा नेपाल बैंक लिमिटेड, गाबहाल शाखामा रहेको खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित व्यक्तिले बैंकमा रकम जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारामसहित ईपीएस कार्यालयमा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ। शाखाले कुनै कारणवश एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा सो रकम फिर्ता नहुने भएकाले रकम जम्मा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

